Saturday, December 29, 2007

नयाँ मधेशी पार्टी गठन गरिएको घोषणा

शुक्रबार राजधानीमा पूर्व मन्त्री महन्थ ठाकुरको नेतृत्वमा तराई-मधेश लोकतान्त्रिक पार्टी नामक नयाँ पार्टीको घोषणा गरिएको छ।

अप्रत्याशित रुपमा आ-आफ्नो पार्टी, मन्त्री र सांसद पद त्यागेर एक छुट्टै मधेश समूह गठन गरिएको घोषणा गरेको झण्डै तीन हप्तापछि नयां पार्टी गठनको घोषणा गरिएको हो।

सो नयाँ पार्टीले आत्मनिर्णय सहितको स्वशासित तराई-मधेश एक प्रदेश र गणतन्त्रात्मक लोकतान्त्रिक संघीय नेपाल आफ्नो लक्ष्य भएको जनाएको छ।

आफूहरु संविधानसभाको विरोधी नभएको वताउँदै सो पार्टीले उसकै शब्दमा सार्थक, न्यायपूर्ण उपस्थितियुक्त र उपलब्धिमूलक निर्वाचनको वातावरण बनाउन माग गरेको छ।

अन्तरिम संसदमा संविधान संशोधनबारे चर्को बहस चलिरहँदा पहिचान, स्वाभिमान र सम्मानको नाराका साथ सैयौं सहभागीकाबीच ठाकुरले राजधानीमा आफ्नो नयाँ दलको उद्घाटन गरेका थिए।

तराईबाट नेतृत्व गर्दै आएका रामराजाप्रसाद सिंह सहित विभिन्न नेता तथा पद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला लगायत नागरिक समाजका केही प्रतिनिधिहरुसमेत सो समारोहमा उपस्थित थिए।

सभालाई संबोधन गर्दै नयां दलका नेता ठाकुरले क्षेत्रीय विभेद कायम रहेको बताए।

उनले भने, “अब मधेशीहरु शिर निहुराएर होइन शिर ठाडो पारेर बाँच्न चाहन्छन्, मधेशीहरु मधेशी सरकार चाहन्छन्।”

आरोप

आफ्नो पक्षमाथि विखण्डनकारी भएको आरोप लगाइएको बताउँदै ठाकुरले त्यसको कडा प्रतिवाद गर्दै भने, “वास्तवमा विखण्डनवादी त ती हुन् जो अरुको कुरा सुन्न चाहँदैनन्। हामी समतावादी हौं।”

ठाकुरले सात दलले हालै गरेको २३ बुँदे सहमतिले तराईको समस्या समाधान नगरेको बताउँदै संविधानसभा निर्वाचन गर्न तराईमा शान्त र सहज वातावरणको माग गरे।

तीन हप्ताअघि उनीहरुले गरेको दावी विपरित राष्ट्रिय राजनीतिमा प्रभावशाली तराईका थप नेताहरुलाई नयां दलले आकर्षित गरेको देखिएन।

तर मधेशी जनाधिकार फोरम गुप्ता समूहका महासचिव जितेन्द्र सोनल सहित सो समूहका केही नेताले नयाँ पार्टीमा प्रवेश गरेको बताएका छन्।

नयाँ दलका केन्द्रिय नेता हृदयेश त्रिपाठीले आफ्नो पार्टीमा १६/१७ सदस्यीय कार्यसमिति रहने बताए।

(source : bbc.co.uk/nepali)

1 comment:

Anonymous said...

Best of luck to all Madheshi neta for their gr8 work....